काठमाडौं- काठमाडौंको चाबहिलमा एक युवामाथि खुकुरी प्रहार गरी लुटपाट कार्यमा संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरूलाई राजधानीबाट पक्राउ गरिएको शुक्रबार जानकारी दिएको हो।
पुस १५ गते दिउँसो ३ बजे काठमाडौंको चाबहिल स्थित एवान क्याफे नजिकैबाट अपरिचित व्यक्तिको समूहले एक सहकारीमा काम गर्ने २५ वर्षीय प्रेम गजमेरमाथि खुकुरी आक्रमण गरी १ लाख ६६ हजारभन्दा बढी लुटपाट गरेका थिए। उनीहरूले गजमेरका साथबाट कागजात तथा चेकबुक पनि लुटपाट गरी फरार थिए।
पक्राउ पर्नेमा काठमाडौं असनका २९ वर्षीय रोहन नेपाली शाही, काठमाडौँ नरदेवीका २२ वर्षीय अधय तुलाधर, सिञ्जा गाउँपालिका २ का २६ वर्षीय हरि शर्मा छन्। यस्तै काठमाडौँ नरदेवीकै २७ वर्षीय अमित तुलाधर र सोही स्थानका १८ वर्षीय रोहित शाही छन्।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटरसमेत चोरी गरेको पाइएको छ।
उनीहरूका साथबाट प्रहरीले २६ हजार ३२५ रुपैयाँ बरामद गरेको छ भने घटनामा प्रयोग भएको बा ५९ प. २९५६ नम्बरको चोरीको रातो रङको डिओ स्कुटर पनि बरामद भएको छ। यसैगरी बा. ८४ प. ९२६९ नम्बरको निलोकालो रङको गिक्सर मोटरसाइकल, बा ५३ प ५८५५ नम्बरको कालो रङको डिओ स्कुटर, बा ५४ प. ५८३३ नम्बरको रातो रङको डिओ स्कुटर र बा ६२ प ६२२ रातो रङको स्कुटर पनि बरामद भएको छ। यस्तै रामपुरी चक्कु थान २ थान र मोबाइल ३ थानसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
कालो झोला र सोभित्र रेहेको विभिन्न बैंकका चेक र युवाबाट लुटपाट गरिएका सहकारी संस्थाका कागजातहरु समेत बरामद भएका छन्।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर,काठमाडौं, महानगरीय प्रहरी वृत्त,गौशाला पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।