काठमाडौं– लिग लिडर एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई १–० गोलअन्तरले पराजित गरेको हो।
गेटाफेविरुद्धको जितमा घरेलु टिम एथ्लेटिको मड्रिडका लागि लुइस स्वारेजले गोल गरे। खेलको २० औं मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिको मड्रिडलाई १–० को अग्रता दिलाए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको एथ्लेटिको मड्रिडले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
अर्को खेलमा भने साविक विजेता रियल मड्रिडले इल्चेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। खेलको २० औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाए पनि खेलको ५२ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै इल्चेले बराबरी खेलेको हो। बुधबार राति नै भएका अन्य खेलमा ग्रानाडाले भ्यालेन्सियालाई २–१ गोलअन्तरले पराजित गर्दा सेल्टा भिगोले हुएस्कालाई २–१ गोलले नै पराजित गरेको छ।
जितसँगै एथ्लेटिको मड्रिडले १४ खेलबाट ३५ अंक बनाएको छ। पराजित गेटाफेको १५ खेलबाट १७ अंक छ। लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडको १६ खेलबाट ३३ अंक हुँदा तेस्रो स्थानमा रहेको रियल सोसिडाडको समान खेलबाट २६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।