काठमाडौं- हृदयघातका कारण मृत्यु भएका आन्दोलनरत उखु किसानका परिवारलाई राहतको रुपमा सरकारले जम्मा २५ हजार रुपैयाँ उपलब्ध गराएको छ। आफूले बेचेको उखुको बक्यौता रकम माग्न काठमाडौं आएका सर्लाहीका ६४ वर्षिय नारायण राय यादवको मंगलबार बिहान निधन भएको थियो।
यादवको दाहसंस्कार खर्चका रुपमा उनको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा नारायण प्रसाद रेग्मीले बताए। शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले मंगलबार यादवलाई मृत घोषित गरेपछि सरकारको प्रतिनिधिका रुपमा सहसचिव रेग्मी र गृह मन्त्रालयका अधिकारीहरु अस्पताल पुगी मृतकका परिवारलाई सो रकम दिएका हुन्। त्यसबाहेक उखु किसानका परिवारले कुनै पनि आर्थिक सहायता सरकारी निकायबाट पाएका छैनन्।
उखु किसान संघर्ष समितिले सरकारसँग १० लाख रुपैयाँ बराबर राहत माग गरेपनि सरकारले भने हालसम्म कुनै निर्णय गरिसकेको छैन। सरकारले दिने राहत तथा आर्थिक सहायताका कार्यक्रम गृह मन्त्रालयमार्फत कार्यान्वयन हुन्छ। मन्त्रालयका सहसचिव चक्र बहादुर बुढाका अनुसार मृतक राम नारायण यादवको परिवारलाई राहत वा आर्थिक सहायताका रुपमा रकम उपलब्ध गराउन सरकारले गृह मन्त्रालयलाई बुधबार बेलुकासम्म कुनै पत्राचार गरेको छैन।
‘मन्त्रिपरिषदबाटै आर्थिक सहायता उपलब्ध गराउने भनेर निर्णय भएमा मन्त्रालयले त्यसको कार्यान्वयन गर्ने हो। अहिलेसम्म त्यस्तो कुनै निर्णयबारे मन्त्रालयलाई जानकारी छैन।’ बुढाले नेपाल लाइभसँग भने।
हृदयघातका कारण ज्यान गुमाएका नारायण यादवले अन्नपूर्ण सुगर मिलबाट २४ लाख रुपैयाँ पाउन बाँकी छ। चिनी उद्योगले मंगलबार यादवको खातामा २ लाख रुपैयाँ हालेको बताएपनि उनले पाउनुपर्ने सबै रकम भने चिनी उद्योगले उनको परिवारलाई उपलब्ध गराएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।