सिड्नी- अस्ट्रेलियन क्रिकेट टिमका पूर्वकप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्न अनुमति दिइएको छ।
बल टेम्परिङ काण्डका कारण प्रतिबन्धमा परेका तेस्रा खेलाडी क्यामरन बेनक्रफ्टलाई भने खेल्न अनुमति दिइएको छैन। स्मिथ र वार्नरलाई वेस्ट अस्ट्रेलिया प्रिमियर (ग्रेड क्रिकेट) घरेलु क्रिकेट खेल्न अनुमति दिएको हो। स्मिथले सउथरल्यान्ड र वार्नरले रान्डविक पेटर्सामबाट घरेलु क्रिकेट खेल्न अनुमति पाएका हुन्।
दुई महिनाअघि दक्षिण अफ्रिका विरुद्धको भएको टेस्टका दौरान ओपनिङ ब्याट्सम्यान क्यामरन बेनक्रफ्टले बल टेम्परिङ गरेका थिए। बलिङमा ‘स्विङ’ ल्याएर ब्याट्सम्यानलाई आउट गर्ने उद्देश्यका साथ पूर्वनियोजित रुपमा टेम्परिङ भएको खुलेपछि कारबाही गरिएको थियो।
स्मिथलाई र वार्नरलाई १–१ वर्ष तथा बेनक्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाइएको थियो। साथै स्मिथलाई २ वर्ष र वार्नरलाई आजिवन कप्तान बन्न पनि रोक लगाइएको थियो। अस्ट्रेलियन क्रिकेटले अनुसन्धानपछि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।