काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरिक्षण गरेकी छन्।
बुधबार बिहान विभागसँग सम्बन्धित विषयहरुको जानकारी लिँदै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले वार्षिक कार्यतालिका अनुसार जिम्मेवारी वहनमा गम्भीर भएर लाग्न कर्मचारीलाई निर्देशनसमेत दिएकी छन्।
खाद्यवस्तुको गुणस्तर परिक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने मन्त्री अर्यालको भनाइ छ। ‘अहिले भइरहेको अनुगमन, निरीक्षण र ल्याब परीक्षणको कामले मात्रै पुग्दैन। अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुगमन कार्यलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्छ’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले भनिन्‚
‘तपाईंहरु योजनासहित अभियानकै रुपमा यसलाई अगाडि बढाउनुस्।’
विभागका कर्मचारीको क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्यसको योजना बनाउनसमेत कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।
‘नीति, नियम, ऐन कानुनहरू निर्माण गर्नुपर्ने वा परिमार्जन गर्नुपर्ने भएमा त्यसको पनि तयारी गर्नुहोस। सँगसँगै उपभोक्ता सचेतनासँग सम्बन्धित प्रवर्द्धनात्मक कार्यमा पनि विभागले जोड दिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।