सुर्खेत–जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो। १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। उनीहरुलाई मंगलबार नै सार्वजनिक गरिएको थियो।
‘विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो’, घर्तीले भने, ‘सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो।’ लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० रुपैयाँ पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।
पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।