काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। युनाइटेडले आफ्नै मैदानमा वुल्भ्सलाई १–० गोलले पराजित गरेको हो।
युनाइटेडको जितमा मार्कस राष्फोर्डले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युनाइटेडले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै जित निकालेको हो। ब्रुनो फर्नान्डेजको पासमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई जित दिलाए।
यो जितसँगै म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दूरी पनि घटाएको छ। शीर्ष स्थानमा रहेको साविक विजेता लिभरपुलको १५ खेलबाट ३२ अंक हुँदा दोस्रो स्थानमा उक्लिएको युनाइटेडको समान खेलबाट ३० अंक छ।
मंगलबार राति नै भएको खेलमा लिड्स युनाइटेडले चमत्कारीपूर्ण जित निकालेको छ। लिभरपुललाई अघिल्लो खेलमा १–१ गोलको बराबरीमा रोकेको वेष्ट ब्रुमविरुद्ध लिड्सले ५–० गोलको शनसनीपूर्ण जित निकाल्यो। यसै सिजनमा प्रिमियर लिगमा बढुवा भएको लिड्सको जारी लिगमा अहिलेसम्मकै फराकिलो जित निकालेको हो। त्यस्तै, ब्राइटनलाई आर्सनलले १–० गोलअन्तरले पराजित गर्दा शेफिल्ड युनाइटेडलाई पनि बर्नलीले १–० गोलले नै पराजित गरेको छ। वेष्ट हाम र साउथह्याम्पटनले भने गोलरहित बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।