काठमाडौं–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई इबारले बराबरीमा रोकेको छ। बार्सिलोनालाई उसैको मैदानमा इबारले १–१ गोलको बराबरीमा रोकेको हो।
कप्तान लियोनल मेस्सी विनै मैदानमा उत्रिएको बार्सिलोनाले तुलनात्मक रुपमा कमजोर मानिएको इबारसँग बराबरी खेलेको हो। घाइते भएका कप्तान मेस्सीले इबारविरुद्धको खेल गुमाएका हुन्। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले खेलको ५७ औं मिनेटमा गोल खाएका थियो। इबारका लागि किकेले गोल गरेका थिए। खेलको ६७ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा पुर्याए। बाँकी समयमा गोल गर्न नसकेपछि बार्सिलोनाले इबारसँग बराबरी खेल्दै अंक बाँडेको हो।
ला लिगामै भएको अर्को खेलमा सेभियाले भिल्लारियललाई २–० गोलअन्तरले पराजित गरेको छ। लेभान्टेले रियल बेटिसलाई ४–३ गोलले पराजित गर्दा काडिजले भने रियल भालाडोलिडसँग गोलरहित बराबरी खेलेको छ।
बराबरीसँगै छैटौं स्थानमा झरेको बार्सिलोनाको १५ खेलबाट २५ अंक छ। १५ औं स्थानमा उक्लिएको इबारको भने १६ खेलबाट १६ अंक छ। जितसँगै सेभिया भने लिगको चौथो स्थानमा उक्लिएको छ। सेभियाको १४ खेलबाट २६ अंक भएको छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको १३ खेलबाट ३२ अंक हुँदा दुई खेल बढी खेलेको साविक विजेता रियल मड्रिडको पनि समान ३२ अंक नै छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।