काठमाडौं- लालबकैया नदी नियन्त्रण आयोजनामा तोकिएअनुसार काम नगरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित आयोजना प्रमुखलगायत विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको हो।
ठेक्का समयमा सम्पन्न गर्न नसकेको उजुरीका आधारमा अनुसन्धान हुँदा बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डव प्रसाद देवले ग्याबियन निर्माणमा प्रयोग भएको तारको गुणस्तर नजाँची भुक्तानी गरेको अख्तियारको जिकिर छ।
गुणस्तर यकिन गरेर मात्र ग्याबियन तार प्रयोग गराउनुपर्नेमा प्रथम रनिङ बिलदेखि सातौं रनिङ बिलसम्मका ७ बिलको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्याबियन तारलाई नजाँचीकन गुणस्तरयुक्त भएको भनी इन्जिनियर पाण्डव प्रसाद देवले सिफारिस गरेको र आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बिल स्वीकृत गरी भुक्तानी गराएकाले भ्रष्टाचार भएको आयोगको आरोपपत्रमा उल्लेख छ।
इन्जिनियर श्रीवास्तव र देवलाई भ्रष्टाचार निवासर ऐनको दफा ८ को उपदफा (१) बमोजिम ३ करोड ६५ लाख ९ हजार ४ सय ५६ रुपैयाँ ३४ पैसा हानीनोक्सानी भएको भन्दै सो बराबरको बिगो असुलउपर हुन मागदाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।