काठमाडौं- राइड सेयरिङ एप पठाओले आफूहरूलाई शोषण गरेको भन्दै चालकहरुले कार्यालय घेराउ गरेका छन्। सोमबार पठाओको नेपाल कार्यालय बानेश्वरमा चालकहरूले कार्यालय घेराउ गरेका हुन्। पठाओ बंगालादेशी कम्पनी हो, यसको क्षेत्रीय कार्यालयका रुपमा केही वर्षदेखि नेपालमा सञ्चालनमा रहेको छ।
चालकहरुले नाराबाजी गर्दै पठाओ कार्यालय घेराउ गरेका हुन्। उनीहरुले युएन पार्कबाट कम्पनीविरुद्ध र्याली निकालेर पठाओको कार्यालय मध्यबानेश्वर पुगेर घेराउ गरेका हुन्। कार्यालय घेराउ गर्न पुगेका ४५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, मोटरसाइकलमा यात्रु बोकेबापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको लगायत माग चालकहरुले राखेका हुन्। पठाओले बिना जानकारी मनलागेको मान्छेलाई निष्काशन गर्ने गरेकोसमेत चालकहरुको दाबी छ।
पठाओ चालकहरूले गत सोमबार कम्पनीमा एक सातामा माग पूरा नगरे आन्दोलन गर्ने भन्दै ११ बुँदे मागपत्र पेस गरेका थिए। मागपत्रमा चालक र यात्रुको अनिवार्य बिमा हुनुपर्ने, मोटरसाइकलमा यात्रु बोकेबापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आबद्ध चालकलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, ग्राहक सेवा नम्बर टोल फ्री संचालन हुनुपर्ने, चालक र यात्रु दुवैले यात्रा बुकिङ रद्द गर्न मिल्ने लगायतका माग राखेका छन्।
पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म नआए सामूहिक रुपमै पठाओ त्यागको घोषणा गर्ने र सबैलाई पठाओ प्रयोग नगर्नसमेत आह्वान गर्ने उनीहरुको दाबी थियो।
पठाओले चालकबाट २० प्रतिशतसम्म कमिसम लिने गरेको, आफूखुसी चालकलाई कारबाही गर्ने गरेको लगायत माग आफूहरुले राखेको पठाओ चालक अर्पण कटुवालले बताए।
‘हामीले समय दिएर राखेको माग पूरा नगरेपछि सोमबार कार्यालय घेराउ गरेका हौं,’ कटुवालले भने, ‘शान्तिपूर्ण रुपमा गरिएको कार्यालय घेराउमा पठाओले प्रहरी लगाएर हामीलाई पक्राउ गराएको हो।’ अब आफूले पठाओ कहिल्यै नचलाउने गरी एप्लिकेसन डिलिट गरेको उनको भनाइ छ। विदेशी कम्पनीले नेपालमा आएर चालकलाई शोषण गरेको उनले आरोप लगाए।
पठाओले भने चालकहरूको अनावश्यक होहल्ला रहेको भन्दै विज्ञप्ति जारी गरेको छ। कम्पनीको नीति, नियम र अनुशासनमा नबसेका केही व्यक्तिले कम्पनीलाई बदनाम गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ।
अहिलेको आन्दोलन वास्तविक पठाओ चालकहरुको आन्दोलन नभएर केही बदमास, कम्पनीको विरोध गर्ने र अराजक गतिविधि गर्ने व्यक्तिहरु रहेको पठाओ कम्पनीको भनाइ छ।
नेपालमा हालसम्म मोटरसाइकललाई भाडा लिएर यात्रु बोक्नु अनुमति छैन। यातायात क्षेत्रको नियामक निकाय यातायात व्यवस्था विभागले पटक-पटक सूचना जारी गरेर सेवा बन्द गराउन खोजेको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा सवारी तथा यातायात व्यवस्था ऐनले नै बर्जित गरेको मोटरसाइकलमा भाडा लिएर यात्रु बोक्ने क्रम रोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।