काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयभित्र तत्काल सम्बोधन गर्नुपर्ने कृषि क्षेत्रका चारवटा र पशुपन्छी क्षेत्रका समान चारवटा गरी आठवटा कार्ययोजना पेश गर्न निर्देशन दिएकी छन्।
मन्त्री अर्यालले आइतबार पदभार ग्रहण गरेलगत्तै मन्त्रालयका उच्च पदस्थ अधिकारीसँग छलफल गरेकी थिइन्। मन्त्रालयको पुरानै कार्ययोजनाभित्र रहेर संचालित कार्यक्रममा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरुको सूचि पेश गर्न मन्त्री अर्यालले निर्देशन दिएकी हुन्।
‘कृषि र पशुपन्छी क्षेत्रका चार–चारवटा कार्ययोजना पेश गर्न भनिएको छ। हामी सम्बन्धित विभाग र विषयविज्ञसँग छलफल गरेर कुन–कुन विषयलाई लैजाने भनेर तय गर्छौं‚’ मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले भने‚ ‘सबैभन्दा महत्वपूर्ण र तत्काल सम्बोधन गर्नुपर्ने विषय कुन–कुन हुन भनेर निर्क्यौल गरी एक दुई दिनभित्रै हामी मन्त्रीलाई जानकारी गराउँछौं।’
आइतबार कार्यभार सम्हालेलगत्तै मन्त्री अर्यालले किसानले वर्षौदेखि भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ति आफू दृढ रहेको बताएकी थिइन्। रासायनिक मल अभावको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५/२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गर्ने प्रतिवद्धतासमेत मन्त्री अर्यालले जनाएकी छन्।
त्यस्तै, वास्तविक कृषकको सूचीकरण गरी कृषक परिचयपत्र वितरण गर्ने र सरकारबाट प्राप्त हुने मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण जस्ता सेवा सुविधा कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कार्य आगामि फागुनबाट शुरु गर्नेगरी काम गर्न पनि उनले निर्देशन दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।