काठमाडौं– इलाका प्रशासन प्रमुखकै सेटिङमा नागरिकता किनबेच हुने गरेको पाइएको छ। सेटिङमा नागरिकता किनेबेच गरेर विवरण गरेको पाइएपछि इलाका प्रशासन प्रमुखसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा गौरीगंज गाउँपालिका–३ बस्ने इलाका प्रशासन कार्यालय गौरिगंज झापाका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जय कुमार शाह, सोही गाउँपालिका–६ बस्ने सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह नगरपालिका–७ बस्ने ५९ वर्षीय कृष्णप्रसाद तिम्सिना रहेका छन्।
जिल्ला प्रशासन कार्यालय झापाले गौरादह नगरपालिका–७ ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१०), दिपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२०) र विशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३० लाई इलाका प्रशासन कार्यालय गौरिगंजले नागरिकता वितरण गरेको थियो।
तर नागरिकता वितरण गरेकोमा नागरिकतासम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरिगंजमा भेटिएको थिएन।
अभिलेख नभएपछि मिलेमतोमा ती नागरिकताहरु कीर्ते गरेको हुनसक्ने भएकोले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नागरिकता प्राप्त गर्ने व्यक्तिहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको पाइएको छ। कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरेपश्चात् उक्त विवरण इडिट गरेको अनुसन्धानबाट खुलेको छ। इडिट गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकताहरु अन्य ब्यक्तिलाई वितरण गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी स्रोतले जनाएको छ।
उनीहरु उपर जिल्ला अदालत झापाबाट नागरिकता सम्बन्धी कसुर मुद्दामा ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।