काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। जारी लिगमा कमजोर प्रदर्शन गर्दै आएको आर्सनलले चेल्सीलाई भने ३–१ गोलले स्तब्ध पारेको छ।
जारी प्रिमियर लिगमा आर्सनलले खराब प्रदर्शन गरिरहेको छ। एकपछि अर्को खेलमा नतिजा विपक्षी टिमलाई सुम्पिँदै आएको थियो। पछिल्लो सात खेलमा आर्सनलले जित निकाल्न सकेको थिएन। पछिल्लो सात खेलमध्ये ५ खेलमा हार दुई खेलमा बराबरी खेलेको आर्सनल टिमको आलोचना पनि भइरहेको थियो। तर शनिबार राति भने प्रिमियर लिगमा राम्रो खेलिरहेको टिम चेल्सीलाई ३–१ गोलले पराजित गर्न सफल भयो।
घरेलु टिम आर्सनलको जितमा एलेक्सन्ड्रे लेकाजेट, ग्रानिट जाका र बुकायो साकाले गोल गरे। चेल्सीका टमी अब्राहमले एक गोल फर्काए।
खेलको ३४ औं मिनेटमा लेकाजेटले पेनाल्टीबाट गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ४४ औं मिनेटमा ग्रानिट जाकाले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो। ५६ औं मिनेटमा साकाले गोल गरेपछि चेल्सीविरुद्ध आर्सनलले ३–० गोलको अग्रता लियो। ८५ औं मिनेटमा टमी अब्राहमले गोल गर्दै ३–१ को स्थिति बनाएपनि चेल्सीले हार टार्न सकेन।
शनिबार राति नै भएका अन्य खेलमा एभर्टनले शेफिल्ड युनाइटेडलाई १–० गोलअन्तरले पराजित गर्दा एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई ३–० गोलले पराजित गरेको छ। फुलहाम र साउथह्याम्पटन भने गोलरहित बराबरीमा रोकिएका छन्।
जितसँगै आर्सनल लिगको १४ औं स्थानमा उक्लिएको छ। १५ खेलबाट आर्सनलको १७ अंक भएको छ। चेल्सीले भने लिगको तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। आर्सनललाई पराजित गरेको भए चेल्सी तेस्रो स्थामा उक्लिने थियो। पराजित भएसँगै चेल्सी लिगको सातौं स्थानमा झरेको छ। चेल्सीको १५ खेलबाट २५ अंक छ। लिगको शीर्ष स्थानमा रहेको साविक विजेता लिभरपुलको १४ खेलबाट ३१ अंक छ। लिगको दोस्रो स्थानमा उक्लिएको एभर्टनको १५ खेलबाट २९ अंक हुँदा तेस्रो स्थानमा रहेको लेस्टरको १५ खेलबाट २८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।