काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदेश लिग फुटबल हुन बाँकी तीन प्रदेशमा आउने माघमा खेल आयोजना गर्ने भएको छ। एन्फाले लिग हुन बाँकी प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लिग माघ पहिलो सातादेखि आयोजना गर्ने निर्णय गरेको हो।
सातदोबाटोमा भएको एन्फा र प्रदेशबीचको छलफलपछि माघ पहिलो सातादेखि प्रदेश लिग आयोजना गर्ने निर्णय गरेको हो। यसअघि नै प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा प्रदेश लिग अयोजना भइसकेको छ। लिग सम्पन्न भइसकेका प्रदेशबाट छनोट भएर एन्फा प्रेसिडेन्ट कपमा चार टिम आइसकेका छन्।
प्रदेश १ बाट सैनिक क्लब झापा, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोजी क्लब बाँके र कर्णाली प्रदेशबाट लेकाली युवा क्लब जुम्ला विजेताका रुपमा प्रेसिडेन्ट कपमा आइसकेका छन्।
एन्फाको तर्फबाट उपाध्यक्ष विरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधार, प्रतियोगिता निर्देशक सञ्जिव मिश्र र प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिबीच भएको छलफलपछि माघबाट प्रतियोगिता गर्ने टुंगो लागेको हो।
एन्फा प्रेसिडेन्ट कपमा सहभागी प्रदेशका शीर्ष चार टिमले राष्ट्रिय लिग खेल्न पाउनेछन्। जसमा ए डिभिजन लिगका शीर्ष ६ टिमसमेत सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।