काठमाडौं- आज बडादशैंको सातौं दिन फूलपाती, घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै छ।
आश्विन शुक्ल सप्तमीका दिनमा पर्ने फूलपातीमा दशैंघर वा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल लगायत भित्र्याइन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष डा माधव भट्टराई बताउँछन्।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याउने मान्यता छ। राजधानीको हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।
गोरखादेखि धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याएको फूलपाती त्यहाँबाट काठमाडौंको जमलसम्म काठमाडौँबाट गएका ६ जना ब्राह्मणले ल्याउने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।