काठमाडौं-प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरमा आवेदन दिनेमध्ये ५ लाख ९ हजारको हात खाली भएको छ। कम्पनीले गत साता निष्काशन गरेको प्राथमिक शेयरमा आवदेन दिनेमध्ये गोला प्रथाबाट ५ लाख ४० हजारले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
प्राथमिक शेयरमा आवेदन दिनेमध्ये २ हजार १६९ जनाको आवेदन रद्ध भएको छ। योग्य आवेदकले २ करोड ७८ लाख कित्ताका लागि आवेदन दिएका थिए। कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बाडफाँड गरेको हो।
बाडफाँडमा कर्मचारीले तीन लाख र म्युचुअल फण्डले तीन लाख कित्ता शेयर प्राप्त गरेका हुन्।
सर्वसाधारण समूहतर्फको ६० लाख कित्तामध्ये म्यचुअल फण्ड र कर्मचारीलाई बाँडफाँड गरेर बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको हो। कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
शुक्रवारको बाँडफाँडपछि कम्पनीले केही दिनमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने छ। दोस्रो बजारमा सूचीकृत भएपछि मात्रै सर्वसाधारणले दोस्रो बजारमा खरिद बिक्री गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।