काठमाडौं- इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले टिमका फरवार्ड मोहम्मद सलाह बेखुस रहेको भन्ने पछिल्ला समाचारको खण्डन गर्दै उनी क्लबमा खुसी रहेको बताएका छन्।
स्पेनिस पत्रिका डायरिओ एएससँगको कुराकानीमा सलाहले आफूलाई लिभरपुलमा कप्तानका रुपमा अगाडि नबढाइएको दुःखेसो गरेका थिए। सलाह लिभरपुल छाडेर स्पेनिस क्लब बार्सिलोना या रियल मड्रिड जान इच्छुक रहेको समेत हल्लाहरु चलिरहेका थिए।
यस्तोमा प्रशिक्षक क्लोपले सलाह लिभरपुलमा नै खुसी रहेको बताएका हुन्। ‘मोहम्मद राम्रो अवस्थामा नै छन्। उनी राम्रो खेलको लयमा पनि देखिन्छन्। अहिले अभ्यासमा सामेल हुँदाको तस्बिरहरु हेर्ने हो भने सबैले त्यो बुझिन्छ कि सलाह कसरी हाँसिरहेका थिए’ उनले भनेका छन्।
सलाहबारेको हल्लाहरु चलिरहँदा पछिल्लो प्रिमियर लिग खेलमा लिरभपुलले क्रिस्टल प्यालेसलाई ७-० ले हराइसकेको छ। जहाँ ५७औँ मिनेटमा सडियो मानेको स्थानमा मैदान पसेका सलाहले दुई गोल गरे। जसले प्रिमियर लिगमा १३ गोल गरेका सलाह यो सिजन सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।