काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाही गरेको छ।
विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरिएको महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तियाउनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारबाही गरिएको जानकारी दिए।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ।
महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठुलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरीत भएकोले कारवाही गरेको हो।
यस्ता गलत गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ। यस्ता किसिमका मोटरसाईकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराइदिन महाशाखाले अनुरोधसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।