काठमाडौं– इएफएल कपको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ। बुधबार इएफएल कपको क्वार्टरफाइनलको अन्तिम खेलहरुमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई र टोटेनहमले स्टोक सिटीलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।
सेमिफाइनलमा युनाइटेडले सिटीसँग प्रतिस्पर्धा गर्दा अर्को सेमिफाइनलमा टोटेनहमले ब्रेन्टफोर्डसँग खेल्नेछ। सेमिफाइनलका खेल जनवरी चारमा हुनेछ।
एभर्टनविरुद्ध बुधबार राति जित निकाल्ने क्रममा युनाइटेडका इडिन्सन काभानी र एन्थोनी मार्सियलले गोल गरे। पहिलो हाफसम्म बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा दुबै गोल गरेको हो। खेलको ८८ औं मिनेटमा काभानीले गोल गर्दा खेलको अतिरिक्त समयमा मार्सियलले गोल गर्दै २–० को जित दिलाए।
त्यस्तै, अर्को खेलमा टोटेनहमले स्टोक सिटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। स्टोक सिटीविरुद्ध टोटेनहमका ग्यारेथ बेल, बेन डेभिस र ह्यारी केनले गोल गरे। स्टोकका लागि जोर्डन थम्पसनले गोल फर्काए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको टोटेनहमले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो। २२ औं मिानेटमा बेलले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। तर खेलको ५३ औं मिनेटमा थम्पसनले गोल गर्दै १–१ को स्थितिमा ल्याएका थिए। खेलको ७० औं मिनेटमा डेभिस र ८१ औं मिनेटमा केनले गोल गर्दै स्टोक सिटीविरुद्ध टोटेनहमलाई ३–१ गोलको जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।