म्यानचेस्टर- सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटीले ब्रिंटनलाई ३-१ गोलले पराजित गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा सिटीका लागि डानिलोले १६ मिनेट, बेर्नान्डो सिल्भाले ३४ मिनेट र फर्डिनान्डोले ७२ मिनेटमा गोल गरेका थिए। त्यसअघि बिंटनका उनोएलाले २० मिनेटमा बराबरी गोल फर्काएका थिए।
अफ्रिकन मिडफिल्डर याया टाउरेको विदाई खेलमा सिटीले प्रिमियर लिगमा सर्वाधिक अंक जोड्ने रेकर्ड बनायो। सिटीले अन्तिम १ खेल बाँकी रहदा ९७ अंक जोडेको छ। यसअघि सन् २००५ मा चेल्सीले ९५ अंक जोडेर प्रिमियर लिगमा सर्वाधिक अंक जोड्ने रेकर्ड बनाएको थियो। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अन्तिम खेलमा पनि जित हात पारेर सय अंक जोडेर अर्को रेकर्ड बनाउन चाहेको बताएका छन्।
यता सिटीले प्रिमियर लिग सिजनमा सर्वाधिक गोलको रेकर्ड समेत बनाएको छ। सिटीले अहिलेसम्म १ सय ५ गोल गरिसकेको छ। यसअघि सन् २०१० मा चेल्सीले एकै सिजनमा १ सय ३ गोल गरेर रेकर्ड बनाएको थियो।
सिटीले सिजनमा ३१ खेलमा जित हात पारेर अर्को रेकर्ड बराबरी गरेको छ। यसअघि सन् १९६१ मा टोटनह्यामले पनि सिजनमा ३१ खेलमा जित हात पारेको थियो।
यता प्रिमियर लिगको अर्को खेलमा हडर्सफिल्ड रेलिगेसनबाट जोगिएको छ। उसले अन्तिम खेलअघि चेल्सीसँग १-१ गोलको बराबरी खेल्दै रेलिगेसनबाट जोगिएको हो। यता बराबरीपछि चेल्सीको लिगमा शीर्ष चारमा पर्ने अभियान संकटमा परेको छ। न्युकासललाई १-० गोलले पराजित गर्दै टोटनह्यामले चेल्सीलाई पछि पारेर चौथो स्थान कब्जा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।