नवलपरासी- कालीगण्डकी करिडोरमा पर्ने सेती भीरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ को भोक्रेफाँटस्थित सेती भीरबाट बुधबार बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक सय मिटर तल खस्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेसीबाट फर्कँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको हेटौँडा–१७ का ४५ वर्षीय सुरेश भुजेल, सोही स्थानका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्साको ठोरी घर भएका ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको खाँणले बताए।
दुर्घटनाको कारण पत्ता नलागे पनि ट्रक अनियन्त्रित भई पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।