काठमाडौं- राजधानीमा युवती प्रयोग गरेर 'हनी ट्रयापु शैलीमा लुटपाट भएको छ। लुटपाटमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ।
दोलखाको शैलुङ गाउँपालिका-३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय सागर भनिने लालबहादुर श्रेष्ठलाई महाशाखाले बुधबार पक्राउ गरेको हो।
घटना गत साउन ८ गतेको हो।
सिन्धुली जिल्ला कमलामाई नगरपालिका–२ का भोला बहादुर जर्घामगरलाई रत्नपार्कबाट कंलकी जान मोटरसाइकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकी थिइन्। जर्घामगरले पनि लिफ्ट दिन तयार भए। त्यसपछि ती युवतीले चोभारसम्म पुर्याइदिन आग्रह गरेकी थिइन्।
युवती र हाल पक्राउ परेका श्रेष्ठसहित अन्यको पूर्वयोजना अनुसार जर्घामगरलाई चोभार पुर्याइएको थियो। त्यसपछि केही युवाले जर्घामगरलाई नियन्त्रणमा लिएर उनले लगाएको ६ तोलाको सुनको सिक्री १ थान, मोबाइल २ थान, नगद ७ हजार गरी ६ लाख ३५ हजार रुपैयाँ बराबर लुटपाट गरेका थिए।
प्रारम्भिक अनुसन्धानको क्रममा श्रेष्ठ समेतका मानिसले अन्य स्थानमा समेत युवतीको प्रयोग गरी विभिन्न मानिसलाई लुटपाट गरेको पाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।