काठमाडौं- नेपाल धितोपत्र बोर्डले सूचना प्रविधि नीति २०७६ लागू गरेको छ। धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास तथा विस्तारलार्ई व्यवस्थित एवं सुशासित बनाउन र बजार सम्बन्धी गतिविधिहरुमा सूचना प्रविधिको बढ्दो प्रयोगलार्ई सुरक्षित एवं भरपर्दो बनाई समग्र बजारलार्ई पारदर्शी एवं विश्वसनीय बनाउन र बजारमा उपयोग हुने सूचना प्रविधिलार्ई अन्तर्राष्ट्रिय सिद्धान्त तथा अभ्यास अनुकूल बनाउन बजारसम्बन्धी एकीकृत नीतिगत कानुनी, संस्थागत व्यवस्था तथा रणनैतिक उपाय अवलम्बन गर्नका लागि यो नीति लागू गरिएको हो।
बोर्डको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा बोर्डको सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका तर्जुमा गरी लागू गर्ने तथा सूचना प्रविधि नीतिमा उल्लेखित कार्यहरु सम्बन्धित पक्षहरुबाट कार्यान्वयन योजना बनाई लागू गर्ने व्यवस्था गरिएबमोजिम सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग समेत समन्वय गरी 'सेवन आइसिटी अप्रेसन म्यानुअल २०२०' तयार गरिएकोमा उक्त म्यानुअल मंगलबारको निर्णयानुसार बुधबारदेखि लागू गरिएको हो।
यसमा सूचना प्रविधिसम्बन्धी संगठनात्मक व्यवस्था, तथ्यांक केन्द्र संचालन तथा व्यवस्थापन, सूचना प्रविधि सञ्जाल पूर्वाधारको व्यवस्था‚ सूचना प्रविधिसम्बन्धी अनुसन्धान तथा विकास; बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रविधि उपकरणहरुको खरिद तथा विकास गर्दा आवश्यक प्राविधिक मूल्यांकन तथा हस्तान्तरणपूर्वको निरीक्षण तथा परीक्षण‚ हार्डवेयर, पावर तथा इन्जिनको स्तरीय एवम् प्रभावकारी व्यवस्था‚ सूचना, संचार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, संचार तथा प्रविधिसम्बन्धी तालिम तथा सचेतना अभिवृद्धीलगायतका व्यवस्थाहरु समावेश गरिएको छ।
यस म्यानुयल लागू गरिएसँगै बोर्डबाट धितोपत्र बजार सहभागीहरुले बोर्डमा बुझाउनुपर्ने वार्षिक तथा त्रैमासिक विवरणलगायतका अन्य आवधिक विवरणहरु अनलाईन मार्फत पेश गर्न सक्ने गरी बोर्डबाट गत असोज २३ गतेदेखि सञ्चालनमा ल्याइएको इआरआरएसको प्रयोग प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
उक्त म्यानुअल कार्यान्वयनमा आए पश्चात बोर्डको आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने, सूचना प्रविधिको स्तर अभिवृद्घि हुने र सूचना प्रविधिको स्तरीय प्रयोग एवं प्रभावकारी व्यवस्थापनबाट बोर्डको संस्थागत क्षमता अभिवृद्धि भई बजार नियमन तथा सुपरिवेक्षणमा कार्य प्रभावकारी हुने बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।