काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको बी डिभिजन लिग फुटबल प्रतियोगिता आउने फागुन ११ गतेदेखि सुरु गर्ने भएको छ। चैत ५ गतेदेखि रोकिएको लिग ११ महिनापछि सुरु हुन लागेको हो।
एन्फाले बी डिभिजन क्लबका प्रतिनिधिहरुसँगको छलफलबाट नयाँ मिति तय गरेको हो। अब लिगका खेल खेलाउँदा हुन सक्ने स्वास्थ्य जोखिमलाई विचार गरेर सुरक्षित रुपमा गराइने एन्फाले जनाएको छ। ‘लिग सुरु गर्ने विषयमा सबै क्लबहरु सहमत भएका छन्। स्वास्थ्य सुरक्षाको नियमका बारेमा पुनः छलफल हुने नै छ’ एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।
अहिले बी डिभिजन लिगको विजेता टिम मात्रै ए डिभिजनमा उक्लने नियममा एन्फाले खेल खेलाइरहेको छ। ए डिभिजन लिगबाट एक क्लब मात्र रेलिगेसन गर्ने र बी डिभिजनबाट एक क्लब मात्र माथि जाने नियम एन्फाले बनाएको हो। ए डिभिजनबाट सरस्वती युथ क्लब मात्र रेलिगेसनमा परेको थियो।
लिग खेल रोकिनुअघि सातदोबाटो युथ क्लब ६ खेलबाट १६ अंक बनाएर शीर्ष स्थानमा थियो। खुमलटार युथ क्लबको ५ खेलमा १३ अंक र बाँसबारी क्लबको ५ खेलमा ११ अंक रहेको थियो। नयाँबस्ती, ब्वाइज युनियन र टुसालको समान ८ अंक रहेको छ।
गएको वर्ष कुनै पनि क्लबको रेलिगेसन पनि नहुने र माथिल्लो डिभिजनमा पनि नपुग्ने नियममा गरिएको लिगमा बाँसबारी र नयाँबस्ती पुछारमा रहेकाले अहिले १–१ अंक घटाइएको हो। अहिले रोकिनुअघि लिगमा झम्सीखेल ६, श्री भगवती ५, श्री कुमारी ३, पुल्चोक १ र मध्यपुर युथ १ अंकमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।