काठमाडौंँ- लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार सेयर बजारमा तिव्र उतारचढाव आएको छ। कारोबार खुलेको २२ मिनेटमै ३३ अंकले सुधारिएको बजार अन्तिममा ७.०४ अंकले मात्रै सुधारिएको छ।
सोमबार नेप्से सूचक एकै दिन ९७ अंकले सुधारिएको थियो। सुधारिएको बजारबाट केही समय नाफा बुक गर्ने हाबी भएका थिए। नाफा बुक गर्ने हाबी हुँदा केही समय बजार रातो देखिए पनि अन्तिममा सुधार भएर बन्द भएको हो।
आइतबार दोस्रो बजारमा पहिरो गएपनि त्यस मंगलबार भने दोस्रो बजारमा अधिक सुधार देखिएको थियो। बजारमा सुधार भए पनि बुधबार ६ अर्ब ८६ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। दोस्रो बजारले अझै नयाँ अधिकतम बिन्दु बनाउने हल्लाले सेयर सप्लाई आइरहेको छैन।
बुधबार वाणिज्य बैंक, जीवन बीमा र म्युचुअल फन्डको सूचकमा सुधार आए पनि बाँकी सूचकमा गिरावट आएको छ। पछिल्लो समय वाणिज्य बैंकको लाभांश घोषणाले दोस्रो बजारलाई साथ दिइरहेको छ।
लगानीकर्ताले अनुमान गरे भन्दा बढी लाभांश घोषणा गरेका नबिल तथा नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा सर्किट लागेको छ। नेपाल लाइफको मात्रै एक अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ। दोस्रो बजारमा यस कम्पनीको अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको हो।
बुधबार १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ४१ वटाको मूल्यमा सुधार आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।