काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले लिगमा प्रतिस्पर्धी क्लब आर्सनलले प्रशिक्षक मिकेल अर्टेटालाई हटाए ठूलो भुल हुने बताएका छन्। काराबाओ कपमा म्यानचेस्टर सिटीले आर्सनललाई ४-१ ले हराएपछि गार्डिओलाले यस्तो प्रतिक्रिया दिएका हुन्।
आर्सनल प्रिमियर लिग अंक तालिकामा अहिले १५औँ स्थानमा छ। १४ खेल खेलेको आर्सनलले ४ खेलमा जित र २ बराबरी गरेको छ भने ८ खेल हारेको छ। काराबाओ कप र लिग प्रतियोगितामा गरेर आर्सनल पछिल्लो ८ खेलमा जितविहीन छ।
गार्डिओलाको सहायकका रुपमा म्यानचेस्टर सिटीमा काम गरिरहँदा नै अर्टेटा त्यहाँबाट आर्सनलको मुख्य प्रशिक्षक बनेका थिए। आर्सनल प्रशिक्षक बनेको १२ महिनापछि अहिले उनको बर्खास्तको हल्लाहरु चलिरहेका छन्। पछिल्ला खेलमा राम्रो नतिजा आउन नसक्दा आर्सनलले उनको विकल्प खोज्नुपर्ने बताइएको हो।
यस्तोमा म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिओलाले अर्टेटालाई हटाउनु गल्ती हुने बताएका हुन्। ‘मलाई थाहा छ आर्सनलले अर्टेटामाथि विश्वास गर्नेछ, यदि आर्सनल उनलाई हटाउने बारे सोचिरहेको छ भने त्यो ठूलो भुल हुनेछ। अर्टेटाका लागि अब खेल लयमा फर्काउन केही समय लाग्नेछ।’
काराबाओ कपमा म्यानचेस्टर सिटीसँग खेल हुनुअघि अर्टेटाले आफू प्रशिक्षकबाट हट्ने बारेमा केही नसोचेको बताएका थिए। गएको सिजन आर्सनलमा उनले एफए कप जिताएर आफ्नो क्षमता प्रष्ट पारेका थिए। त्यसका साथै गएको अगस्टमा लिग विजेता लिभरपुललाई कम्युनिटी शिल्डमा हराएर अर्टेटाले आफूलाई अघि बढाउने शैली देखाएका थिए। अहिले भने लिगमा भएको खराब स्थितिले उनीमाथि प्रश्न उठिरहेको छ।
‘फुटबलमा एक हप्तामा धेरै कुरा फेरिन्छ। अर्टेटासँगै काम गर्दाको मेरो अनुभवका आधारमा भन्नुपर्दा सिटीले पछिल्ला वर्षमा जे जति उपलब्धी पाएको थियो त्यसमा उनको योगदान ठूलो छ। मलाई सिटीमा पहिलो सिजनमा जस्तै अहिले उनका लागि केही समयको खाँचो छ’ गार्डिओलाले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।