काठमाडौं– अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पेलेको कीर्तिमान तोडेका छन्। मंगलबार राति बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलमा ३–० गोलको जित दिलाउने क्रममा कप्तान मेस्सीले पेलेको कीर्तिमान भंग गरे।
रियल भालाडोलिडविरुद्ध ३–० गोलको जित निकाल्ने क्रममा कप्तान मेस्सीको नाममा एक गोल रह्यो। यो गोल मेस्सीका लागि एक गोल मात्रै थिएन। ब्राजिलियन लेजेन्ड पेलेको कीर्तिमान तोडिएकोसमेत थियो। एकै क्लबबाट सर्वाधिक गोलकर्ता मेस्सी बनेका छन्। उनले बार्सिलोनाबाट ६४४ गोल गरेका छन्। यसअघिसम्म एउटै क्लबबाट सर्वाधिक गोलकर्तामा पेले थिए। पेलेले १९५६ देखि १९७४ सम्म सान्तोषबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए।
भालाडोलिडविरुद्ध क्लेमेन्ट लिन्गलेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ३५ औं मिनेटमा मार्टिन बे्रथवेटले गोल गर्दै बार्सिलोनाका अग्रता २–० मा पुग्यो। पहिलो हाफसम्म २–० गोलको अग्रता रहेको बार्सिलोनाका लागि खेलको ६५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै ३–० गोलको जित दिलाएका थिए।
लिगको पाँचौं स्थानमा रहेको बार्सिलोनाले जितसँगै १४ खेलबाट २४ अंक बनाएको छ। पराजित रियल भालाडोलिडको भने १५ खेलबाट १४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।