मुम्बई- आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्स सिजनमा पहिलो पटक शीर्ष चार पुगेको छ। मुम्बईले बुधबार भएको खेलमा कोलकाता नाइटराइडर्सलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै चौथो स्थानमा फड्को मारेको हो।
अंक तालिकामा चौथो स्थानमा उक्लिएको मुम्बईले ११ खेलबाट १० अंक जोडेको छ। पाँचौ स्थानमा झरेको कोलकाताले पनि ११ खेलबाट १० अंङ्क जोडेको छ। कोलकाता रनरेटमा मुम्बई भन्दा पछि छ।
बुधबार मुम्बईले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाता १८.१ ओभरमा १ सय ८ रनमै अलआउट भयो। कोलकाताका लागि क्रिस लियोन र नितिश रानाले समान २१-२१ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्के। कोलकाताको इनिङ ध्वस्त पार्ने क्रममा मुम्बईका हार्दिक पाण्ड्या र क्रुनाल पाण्ड्याले समान २-२ विकेट लिए। मिचेल म्याक्लिङघन, जसप्रित बुमराह, बेन कटिङ र मार्कडेयले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेटको नोक्सानीमा २ सय १० रन जोड्यो। मुम्बईका लागि इशान किसानले २१ बलमा ६२ रनको आक्रामक ब्याटिङ गरे। उनले ५ चौका र ६ छक्का प्रहार गरेका थिए। बेन कटिङले ९ बलमा २४ रन, हार्दिक पाण्ड्साले १३ बलमा १९ रन र रोहित शर्माले ३१ बलमा ३६ रन जोड्दा मुम्बईको इनिङले गति लिएको थियो। ओपनरद्वय सूर्यकुमार यादवले ३२ बलमा ३६ तथा इभिन लेविसले १३ बलमा १८ रन जोडेका थिए। बलिङतर्फ कोलकताका पियुस चावलाले ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।