काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरविरुद्ध ‘फिफा म्युजियम प्रोजेक्ट’ मा गैरकानूनी काम गरेको भन्दै उजुरी परेको छ। स्वीटजरल्याण्डको जुरिचमा फिफा संग्रहालयको काममा भएको आर्थिक अनियमिततामा उनीविरुद्ध उजुरी परेको हो।
२०१५ मा भ्रष्टाचार काण्ड बाहिरिएपछि फिफा अध्यक्षबाट राजीनामा दिएका ब्लाटरविरुद्ध यो पछिल्लो उजुरी हो। ८४ वर्षका उनले आफूले अहिलेसम्म कुनै पनि गैरकानूनी काम नगरेको बताउँदै आइरहेका छन्।
‘फिफा म्युजियम प्रोजेक्ट’मा भवन पुनर्निर्माणका लागि ब्लाटरले ११८ मिलियन पाउण्ड खर्च गरेको तर त्यो भवन फिफा अन्तर्गत प्रयोगमा नआएको बताइएको छ। भवनलाई भाडामा लगाउने गरी ब्लाटरले गरेको सम्झौता पनि कानूनअनुरुप नदेखिएको बताइएको छ।
फिफाले आफ्नो अनुसन्धानले त्यसमा भएको अनियमितता र गैरकानूनी काम भएको निष्कर्ष निकालेको छ। ‘फिफा संग्रहालयको निर्माण र लागत बारेमा प्राप्त तथ्यहरु र परिस्थितिको विस्तृत समीक्षापछि फिफा यस परियोजनाको सम्बन्धमा धेरै गम्भीर अनियमितता भएको बारेमा सचेत भएको छ’ फिफाले उल्लेख गरेको छ।
ज्युरिचमा यसबारेमा उजुरी गरिएको र सबै आवश्यक अनुसन्धानपछि फुटबलमाथि नराम्रो काम गरेकाले सजायको भागिदार हुनुपर्ने फिफाले जनाएको छ। अनियमितता भएको भनिएको ‘फिफा म्युजियम प्रोजेक्ट’ २०१३ मा सुरु भएको प्रोजेक्ट हो। ब्लाटर अहिले फिफाले लगाएको ६ वर्षको प्रतिबन्धमा छन्। यो उजुरीको अनुसन्धानपछि उनी दोषी पाइएमा थप कारबाही हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।