काठमाडौं- नेपालले रसियामा बिहीबारदेखि सुरु हुने सडक बालबालिकाका लागि आयोजना गरिएको 'स्ट्रिट चाइल्ड वर्ल्डकप'मा सहभागिता जनाउँदैछ। फिफा विश्वकप फुटबल हुने एक महिना अघि ‘द फ्युचर डिपेन्ड्स अन यू’ नारा दिएर प्रतियोगिता आयोजना गर्न लागिएको हो। जहाँ सहभागी हुन नेपाली टिम बुधबार राति रुसको मस्को प्रस्थान गरेको छ।
प्रतियोगितामा सहभागी हुन ९ खेलाडी र ३ अफिसियल गरी १२ सदस्यीय नेपाली टिम त्यसतर्फ गएको हो। स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा हुने प्रतियोगिता सेभेन ए साईडको आधारमा संचालन हुनेछ।
पुरुषतर्फ सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ। प्रत्येक टिमले समूह चरणमा दुई खेल खेल्नेछ। नेपाल प्रतियोगिताको समूह 'सी' मा छ। नेपाल सम्मिलित समूहमा लाइबेरिया र पाकिस्तान छन्। यस्तै समूह 'ए' मा बेलारुस, ब्राजिल र बुरुन्डी छन्। समूह 'बी' मा इजिप्ट, इन्डोनेसिया र केन्या छन्। समूह 'डी' मा रसिया, ताजकिस्तान र उज्वेकिस्तान छन्।
रुस जाने नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन्। सेल्टर आश्रय नेपालले तीन महिनाअघि सडक बालबालिकाको राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो। सेल्टर आश्रमको संचालन खुस्बु ओलीले गर्दै आएकी छिन्।
मस्कोमा हुने प्रतियोगितमा विश्वभरबाट महिला र पुरुष गरी २४ देशले सहभागिता जनाउँदैछन्। जहाँ पुरुषको १२ र महिलाको १२ टिम हुनेछन्। करिब २ सय सडक बालबालिकाको सहभागिता हुने प्रतियोगितामार्तफ सडक बालबालिकाप्रति रहेको नकारात्मक धारणा परिवर्तन गर्ने विश्वास गरिएको छ।
'स्ट्रिट चाइल्ड वर्ल्डकप' सन् २०१० देखि सुरु भएको प्रतियोगिता हो। गत संस्करणमा पनि प्रतियोगिता ब्राजिलमा आयोजना भएको थियो। प्रतियोगितालाई बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनको पनि साथ छ।
संयुक्त राष्ट्र संघका अनुसार १५ करोड बढी बालबालिका सडकमा जीवन गुर्जान बाध्य छन्। जसले गर्दा उनीहरुको जीवन खतरामा छ। डरलाग्दो जीवन बिताउन बाध्य भएपनि उनीहरु प्रति हेर्ने दृष्टिकोण नकारात्मक छ भने कतिपय अवस्थामा हिंसाको समेत सिकार बन्नु परेको छ। फुटबलबको माध्यमबाट सडक बालिकाको बारेमा जनचेतना जगाउन र बालबालिकाको क्षमता पहिचान गर्न विश्वकप आयोजना गरिएको स्ट्रिट चाइल्ड युनाइटेडले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।