काठमाडौं– चेल्सीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। सोमबार राति भएको खेलमा चेल्सीले वेष्टहामलाई ३–० गोलले पराजित गरेको हो।
घरेलु टिम चेल्सीको जितमा टमी अब्राहमले दुई गोल गर्दा थियागो सिल्भाले एक गोल थपे। खेलको १० औं मिनेटमा नै थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म एक गोलको अग्रता लिएको चेल्सीले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो।
खेलको ७८ औं मिनेटमा टिमो वेर्नरको एसिस्टमा अब्राहमले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै अब्राहमले अर्को गोल गर्दै चेल्सीलाई ३–० गोलको सहज जित दिलाए। प्रिमियर लिगमै भएको अर्को खेलमा बर्नलीले वुल्भ्सलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
वेष्टहामलाई पराजित गर्दै चेल्सी प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ। चेल्सीले १४ खेलबाट २५ अंक बनाउँदा पराजित वेष्टहामको समान खेलबाट २१ अंक छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक हुँदा दोस्रो स्थानको लेस्टर सिटीको १४ खेलबाट २७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।