काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्सलाई ६–२ गोलअन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र स्कट टोमिनाले समान २–२ गोल गर्दा भिक्टोर लिन्डेलोफ र ड्यानियल जेम्सले १–१ गोल गरे। लिड्स युनाइटेडका लागि लियाम कोपर र स्टुर्आट डेलसले गोल फर्काए।
खेलको दोस्रो र तेस्रो मिनेटमा नै गोल गर्दै स्कट टोमिनाले म्यानचेस्टर युनाइटेडलाई २–० गोलको अग्रता दिलाए। खेलको २० औं मिनेटमा ब्रुनो फर्नान्डेज र ३१ औं मिनेटमा भिक्टोरले गोल गरेपछि लिड्सविरुद्ध म्यानचेस्टर युनाइटेडले ४–० गोलको अग्रता लियो। खेलको ४१ औं मिनेटमा लियाम कोपरले गोल गर्दै लिड्सलाई ४–१ गोलको स्थितिमा ल्याए।
६६ औं मिेटमा ड्यानियल जेम्सले गोल गर्दा म्यानचेस्टर युनाइटेडले ५–१ गोलको अग्रता बनायो। ७० औं मिनेटमा पेनाल्टीबाट ब्रुनो फर्नान्डेजले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले लिड्सविरुद्ध ६–१ गोलको फराकिलो अग्रता बनायो। ७३ औं मिनेटमा स्टुआर्ट डेलसले गोल गर्दै ६–२ गोलको स्थितिमा पुर्याए पनि म्यानचेस्टर युनाइटेडले लिड्सविरुद्ध सहज जित निकालेको हो।
जितसँगै म्यानचेस्टर युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ। १३ खेल खेलेको म्यानचेस्टर युनाइटेडको २६ अंक छ। पराजित लिड्सको भने १४ खेलबाट १७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।