काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा रियलले इबरलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम इबरविरुद्ध जित निकाल्ने क्रममा करिम बेन्जिमा, लुका मोड्रिच र लुकास भास्क्वेजले समान १–१ गोल गरे। इबरका लागि किकेले एक गोल फर्काए। खेलको छैटौ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। १३ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरुवातमै २–० गोलको अग्रता दिलाए। २८ औं मिनेटमा किकेले गोल गर्दै इबरलाई २–१ गोलको स्थितिमा ल्याए।
पहिलो हाफमा २–१ गोलले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो। खेलको अतिरिक्त समयमा लुकासले गोल गरेपछि रियलले ३–१ गोलको जित निकालेको हो। स्पेनिस ला लिगा मै भएका अन्य खेलमा गेटाफेले काडिजलाई २–० गोलअन्तरले पराजित गर्दा सेल्टा भिगोले अलभेसलाई र ग्रानाडाले रियल बेटिसलाई समान २–० गोलअन्तरले नै पराजित गरेका छन्।
जितसँगै रियलले शीर्षस्थानमा रहेको एथ्लेटिको मड्रिडसँग अंक बराबरी बनाएको छ। तर रियलले दुई खेल बढी खेलेको छ। शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको १२ खेलबाट २९ अंक हुँदा दोस्रो स्थानमा उक्लिएको रियलको १४ खेलबाट २९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।