काठमाडौं- जनता समाजवादी पार्टी नेता राजेन्द्र महतोले संविधानमाथि ‘कू’ भएको बताएका छन्। प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि नेपाल लाइभसँग कुरा गर्दै महतोले सो कदम आफूहरुले नमान्ने बताएका हुन्।
‘यो विल्कुल संविधान विपरीत कदम हो। संविधानमाथि कू हो। संवैधानिक व्यवस्थाको विपरीत, संवैधानिक मूल्य मान्यताको विपरीत काम भयो’, महतोले भने।
उनले अहिलेको अवस्थामा संसद विघटन हुन नसक्ने बताए। ‘संविधानले संसद विघटनको केही परिस्थिति राखेको छ, त्यो अवस्था अहिले बनेको छैन। आफ्नो पार्टीको झगडाको सझाय संविधानलाई दिने? संसदलाई दिने? यो गलत भयो’, उनको भनाइ छ।
उनले प्रधानमन्त्रीको कदम गलत भएकाले त्यसको व्यापक विरोध जरुरी भएको बताए। ‘हामी विरोध गर्छौं। हामी मान्दैनौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।