काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ७–० गोलले पराजित गरेको हो।
क्रिस्टल प्यालेसको मैदानमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले समान २–२ गोल गर्दा साडियो माने, ताकुमी मिनामिनो र जोर्डान हेन्डरसनले समान १–१ गोल गरे। खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलबाट अग्रता लिएको लिभरपुलका लागि ३५ औं मिनेटमा मानेले गोल गर्दै २–० को अग्रता दिलाए। ४४ औं मिनेटमा फिर्मिनोले गोल गर्दा लिभरपुलले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनायो।
५२ औं मिनेटमा हेन्डरसन, ६८ औं मिनेटमा फिर्मिनोले गोल गर्दा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ५–० गोलको अग्रता बनायो। त्यसपछि ८१ औं र ८४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ७–० को फराकिलो जित दिलाए।
अर्को खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई १–० गोलले पराजित गरेको छ। खेलको १६ औं मिनेटमा रहिम स्टर्लिङले गरेको गोल नै सिटीको जितको आधार बन्यो। प्रिमियर लिगमै भएको अर्को खेलमा आर्सनल एभर्टनसँग २–१ गोलले पराजित हुँदा न्युक्यासल र फुलहामले भने १–१ गोलको बराबरी खेलेका छन्।
फराकिलो जित निकालेको लिभरपुलले दोस्रो स्थानमा उक्लिएको एभर्टनसँग ५ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ। आर्सनललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको एभर्टनको १४ खेलबाट २६ अंक छ। तेस्रो स्थानमा रहेको टोटेनहमको १३ खेलबाट २५ अंक छ। त्यस्तै, साउथह्याम्पटनलाई पराजित गरेको सिटी जितसँगै छैटौं स्थानमा उक्लिएको छ। सिटीको १३ खेलबाट २३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।