काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली आज एकाएक राजनीतिक दौडधुपमा व्यस्त देखिएका छन्।
बिहान उपाध्यक्ष वामदेव गौतमलाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका उनी लगत्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न मन्त्रीनिवास पुगेका थिए। बादलसँगको वार्ता सकाएर उनी भर्खरै बालुवाटार फर्किएका छन्।
पार्टी निकै अप्ठेरोमा परेपछि ओली प्रधानमन्त्री भएपछि पहिलोपटक आज बिहान खुमलटार पुगेका थिए। यसअघि बसेको स्थायी कमिटी बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। प्रचण्डलाई फकाउन गौतम सजिलो हुने भएकाले ओलीले खुमलटार लिएर गएका हुन्।
यसअघि संवैधानिक परिषद नियुक्तिसम्बन्धी अध्यादेश ओलीले फिर्ता गर्ने भनिए पनि नगरेपछि थप समस्या भएको हो। गत पुस १ गते बसेको स्थायी कमिटी बैठकमा ओली अध्यादेश फिर्ता गर्न सहमत भएका थिए। तर यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता नलिएपछि पार्टीमा आशंका बढाएको छ। प्रचण्डले अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद् बैठकअघि ओलीलाई भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।