उखु कृषकको आन्दोलन। काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले उखुको भुक्तानीको दीर्घकालीन समाधान खोज्न माग गरेको छ।
अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ- 'उखु किसानहरूको सम्पूर्ण मागहरु तत्काल पूरा गर्न, गराउन र उखुको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न नेपाल सरकार र अन्य सम्बद्ध निकायलाई जोडदार माग गर्दछौं।'
उखु किसानहरुद्वारा काठमाडौंको माइतीघरमा सञ्चालित आन्दोलन न्यायपूर्ण भएको भन्दै त्यसमा अनेरास्ववियुको पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गरिएको छ।
'वर्षेनी चिनी आयातका नाममा करोडौं रकम मुलुक बाहिर जानबाट रोक्न महत्त्वपूर्ण योगदान गरिरहेका स्वदेशी उखु किसानहरुलाई स्वयं राज्यले नै संरक्षण, प्रोत्साहन र प्रबर्द्धन गर्नु पर्ने हो। तर उल्टो आफूले बिक्री गरेको उखुको मूल्य समेत नपाएर उखु किसानहरु सडक संघर्षमा उत्रिनुपर्ने स्थिति अत्यन्तै खेदजनक छ', विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।