काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकूलतामा उभिएको टिप्पणी गरेका छन्। शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो टिप्पणी गरेका हुन्।
उनले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकूलतामा उभिँदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताए। पछिल्लो समय राष्ट्रपतिको भूमिकाको सम्बन्धमा जनतामा तीव्र विरोध हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा पुर्याउने उल्लेख गरे।
‘राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिनु, राष्ट्रपतिको जनतामा तीव्र विरोध हुनु, त्यसले गम्भीर आघात पुर्याउँछ। गणतन्त्रलाई सबल बनाउन पनि बाधा पुर्याउँछ। राष्ट्रपति गम्भीर बन्नुस् भन्ने कांग्रेसको सल्लाह छ,’ नेता खाँडले भने।
सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश र सर्वसत्तावादी सोचलाई अगाडि बढाएको समेत प्रमुख सचेतक खाँडको भनाइ छ। सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि नागरिकको तीव्र विरोध हुँदाहुँदै पनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको पनि उनको भनाइ छ।
‘राष्ट्रपतिले राम्रो गर्नुभएन। संविधानको पालना गर्ने, संविधानको रक्षा गर्ने प्रमुख दायित्व राष्ट्रपतिको हो। सरकारले गरेको निर्णय संविधानको प्रतिकुल छ भने सरकारलाई सच्याउन राष्ट्रपतिले सुझाव दिने, सल्लाह दिने परम्परा छ। संसारभरको चलन छ,' पत्रकारसँग कुराकानी गर्दै खाँडले उल्लेख गरे, 'यही अध्यादेश केही समय अघि ल्याउँदा सबै राजनीतिक दल, कानुन, विज्ञ, मिडियाले विरोधका कारण फिर्ता लिइएको थियो। फिर्ता गरिसकेको अध्यादेश लैजाँदा राष्ट्रपतिले त्यति चाँडो स्वीकृत गर्नु उहाँको कमजोरी हो,’
सरकारले संविधानको प्रतिकूलतामा गरेको निर्णयको विरोधमा कांग्रेस रहेको उनको भनाइ थियो। ‘सरकारले जनता प्रतिको उत्तरदायित्व निर्वाह गर्न उदासिनता देखाएको छ। सरकारलाई उत्तरदायि बनाउने कुरामा जोड रहन्छ,’ उनले भने।
यस्तै सांसद दिव्यमणिराज राजभण्डारीले सरकार संविधान अनुरुप चल्नुपर्ने धारणा व्यक्त गरे। सरकार आफु खुशी नचलेर संविधान अनुरुप लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनेगरी चल्नुपर्नेब बताउँदै उनले भने, ‘संविधान अनुसार चल्नुपर्यो। विधिविधान अनुसार चल्नुपर्यो। जनताको हितको लागि लाग्नुपर्यो। आफुखुशी मनपरी गरेर हुँदैन। सबैको रक्षा हुनुपर्छ। अहिले जुन परिस्थिति छ यसरी देश चलाएर हुँदैन। संविधान अनुसार चले, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनुपर्यो, दुरुपयोग होइन।’
नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता गर्न र संसद अधिवेशन बोलाउन माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।