काठमाडौं- हिमालयन डिष्ट्रिलरीले गत आर्थिक वर्षको मुनाफाबाट १०० प्रतिशत लाभांशको घोषणा गरेको छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट १०० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। सञ्चालक समितिले ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश दिने भएको हो।
कम्पनीले लाभांश घोषणासँगै पुस २९ गते २० औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ। पुस १६ गतेसम्म कायम शेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्ने छन्। साधारणसभा कम्पनीले विरगन्ज महानगरपालिकाको लिपनिविर्तामा रहेको कार्यालयबाटै सम्पन्न गर्ने भएको छ।
यसअघि युनिलिभरले गत वर्षको मुनाफाबाट १०० प्रतिशत नगद लाभांश दिएको थियो। यस वर्ष युनिलिभर र हिमालयन डिष्ट्रिलरीले बराबर लाभांश दिएका हुन्। कोभिड-१९ का कारण नाफा खुम्चिदा युनिलिभरको लाभांश खुम्चिएकाले हिमालयन डिष्ट्रिलरीको लाभांश बराबर हुन पुगेको छ। कम्पनीले गत वर्ष पनि ५० प्रतिशत बोनस शेयर र ५२.६३ प्रतिशत नगद लाभांश दिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।