काठमाडौं- श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता रकम शुक्रबारदेखि भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। किसानहरु माइतिघर मण्डलामा आन्दोलनमा रहेकाले सरकारले पक्राउ पुर्जी जारी गरेपछि एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि भुक्तानी प्रक्रिया अघि बढाउने जनाएको हो।
रौतहटको गरुडास्थित रहेको उद्योगले किसानहरुसँग माफी माग्दै उद्योगले भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भइसकेको दाबी गरेको छ।
एक विज्ञप्ति जारी गर्दै उद्योगले बक्यौता रकमका सम्बन्धमा पटक पटक सम्बन्धित निकायहरुमा छलफल गरी समस्या समाधानका उपायहरु खोजे पनि समाधान हुन नसकेको दाबी गरेको छ।
साथै भुक्तानीका लागि कारनास्थलमा सूचना टाँस गरिसकेको उद्योगले जनाएको छ।
‘शुक्रबारदेखि नै भुक्तानी चालु गर्ने व्यहोरा उल्लेख भएको सबैमा जानकारी गराउन चाहन्छौं‚’ विज्ञप्तिमा भनिएको छ। साथै उद्योगले उखु किसानलाई भुक्तानी गर्न बिलम्व भई पर्न गएको पीर मर्का तथा दुःखप्रति क्षमायाचना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।