काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा म्यानचेस्टर युइनाटेडले सेफिल्ड युनाइटेडलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम सेफिल्डविरुद्धको जितमा युनाइटेडका मार्कस रास्फोर्डले दुई गोल गर्दा एन्थोनी मार्सियलले एक गोल थपे। यता, सेफिल्डका लागि डेविड म्याकगोड्रिकले दुई गोल फर्काए। खेलको पाँचौं मिनेटमा म्याकगोड्रिकले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए। रास्फोर्डले खेलको २६ औं मिनेटमा गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याए। खेलको ३३ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेडले पहिलो हाफसम्म २–१ गोलको अग्रता बनायो।
५१ औं मिनेटमा राष्फोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले ३–१ गोलको अग्रता बनायो। ८७ औं मिनेटमा म्याकगोड्रिकले गोल गर्दै ३–२ गोलको स्थितिमा ल्याएपनि सेफिल्डले युनाइटेडलाई रोक्न सकेन।
यो जितसँगै युनाइटेड लिगको छैटौं स्थानमा उक्लिएको छ। युनाइटेडले १२ खेलबाट २३ अंक बनाउँदा पराजित शेफिल्ड १३ खेलबाट १ अंकसहित लिगको पुछारमा छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको १३ खेलबाट २८ अंक हुँदा दोस्रो स्थानमा रहेको टोटेनहमको १३ खेलबाट २५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।