काठमाडौं– बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्कीले बेष्ट फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन्। स्वीट्जरल्यान्डको जुरिचमा विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार राति वितरण गरेको अवार्डमा लेवान्डोस्की उत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन्।
पोल्याण्डका ३२ वर्षीय लेवान्डोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फिफा वर्ष खेलाडी चुनिएका हुन्। गएको सिजन लेवान्डोस्कीले बायर्न म्युनिकबाट ४७ खेलमा ५५ गोल गरेका थिए। त्यस्तै, बुधबार रातिमात्रै वुल्फबर्गलाई २–१ पराजित गर्दा लेवान्डोस्कीले २५० गोल पूरा गरेका थिए। बुन्डेस लिगामा उनी सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो नम्बरमा पर्छन्। गएको सिजन बायर्नले च्याम्पियन्स लिग सहित तीन वटा ठूला प्रतियोगिताको उपाधि उचाल्दा लेवान्डोस्कीको भूमिका मुख्य रहेको थियो।
त्यस्तै, म्यानचेस्टर सिटीकी डिफेन्डर लकी ब्रोन्जले उत्कृष्ट वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरिन्। त्यस्तै, वर्ष उत्कृष्ट गोलकिपरको अवार्ड बायर्नका म्यानुएल नोयरले पाए। त्यस्तै, लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्। महिलातर्फको वर्ष प्रशिक्षकको अवार्ड भने नेदरल्यान्ड्सकी सरिना वेगमेनले जितिन्। टोटेनहमका फरवार्ड सन हेयुङ मिनले पुस्कार अवार्ड प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।