काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम 'ऐना' सञ्चालन गर्ने भएका छन्। द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रमको प्रस्तोता शर्मा बन्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। माघ ७ गतेदेखि कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रसारणमा आउने भएको हो।
एक घण्टाको कार्यक्रम २६ अंकसम्म संचालन हुने निर्माताले जानकारी दिएको छ। बिहीबार कार्यक्रमको शीर्ष गीतसमेत सार्वजनिक भयो। कवि श्रवण मुकारुङले रचना गरेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र मोहित मुनालको संगीत छ।
कार्यक्रम ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले राजनीतिक व्यक्तित्वलाई सामाजिक र मानवीय मुद्दामा जोड्नुका साथै समाजका विविध घटनासँग प्रत्यक्ष साक्षात्कार गराउन विश्वप्रकाश शर्मालाई कार्यक्रम प्रस्तोताका रुपमा आग्रह गरिएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै प्रस्तोता शर्माले समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुने गरी तयार भइरहेको कार्यक्रम ऐनाको हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताए।
कार्यक्रम ऐनाको मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गरेको छ भने सहप्रायोजनमा चौधरी फाउन्डेसन र आइएनजी ग्रुप छन्। पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ महेशप्रसाद ढकालले कार्यक्रम ऐनाको मुख्य प्रायोजक हुन पाउँदा खुसी लागेको बताए। यस्तै, चौधरी फाउन्डेसनकी डेपुटी जेनरल म्यानेर मेरिना रञ्जितले कार्यक्रम ऐनाले समाजलाई उज्यालोतर्फ लैजानेमा आशावादी रहेको बताइन्।
देशका विभिन्न स्थानमा घटनास्थलमै पुगी र पीडित वा सरोकारवालाहरुलाई भेटेर तथा स्टुडियोमा छलफल गरेर यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम 'ऐना'ले गर्ने बताइएको छ।
कार्यक्रम ऐनाको निर्देशन अमनप्रताप अधिकारीले गर्नेछन्। कार्यक्रमको प्रोड्युसर जनक पौडेल हुन् भने अनुसन्धान प्रमुख प्रकाश लामिछाने र स्क्रिप्ट राइटर आन्विका गिरि हुन्। यस्तै, कार्यक्रमको अनुसन्धान टिममा भानु बोखिम, महावीर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।