काठमाडौं- माछालगायत पानीमा बस्ने जीवजन्तु (जलचर) लाई समात्न, पक्रिन वा मार्नका लागि पूर्णस्वीकृति लिनुपर्ने गरी सरकारले कानुन बनाउन लागेको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको ‘जलश्रोतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७’ को मस्यौदामा जलश्रोतमा रहेका जलचर समात्न, मार्न वा पक्राउ गर्न तोकिएबमोजिम स्वीकृति लिनुपर्ने व्यवस्था राखिएको हो।
विधेयकको मस्यौदाअनुसार जलचर मार्न वा समात्नका लागि प्रयोग गर्न लागिएको विधि, रासायनिक पदार्थको प्रयोग गर्नुपरेमा सो सम्बन्धी विवरण र सुरक्षित खालको विष प्रयोग गर्नका लागि अनुमति लिनुपर्नेछ।
मस्यौदा संसदमा पारित भएर ऐनका रुपमा कार्यान्वयन भएमा अब माछा मार्नका लागि द्वाली थुन्न पाइने छैन। ‘कुनै जलचरलाई समात्ने, मार्ने वा पक्राउ गर्ने उद्देश्यले बाँध, जलाशय, फिस ल्याण्डर वा अन्य संरचनाको ढोका थुन्न वा भत्काउन हुँदैन।’ मस्यौदामा उल्लेख गरिएको छ। त्यस्तै माछालगायत जलचर मार्नका लागि खोला वा नदीमा करेन्ट छोड्ने, विष्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न पाइनेछैन।
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास जलचरलाई समात्न, मार्न वा चोड पुर्याउन नपाउने गरी निषेध गर्न सक्नेछ। तर निजी जलश्रोतका धनीले अरु जलचरलाई क्षति नहुने गरी विषालु पदार्थ बाहेक अन्य उपयुक्त तरिकाले आफ्नो निजी जलश्रोतमा मार्न वा समात्नका लागि स्वीकृति लिनुपर्ने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।