काठमाडौं–स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस २४ गते ३४ औं वार्षिक साधारणसभा डाकेको छ। बैंकले भौतिक रुपमा २५ जना शेयरधनीलाई मात्रै उपस्थित गराउने र बाँकीलाई भर्चुअल माध्यमबाट उपस्थित गराउने जनाएको छ।
बैंकको सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै साधारणसभामा पेश गर्ने भएको छ। साधारणसभाले उक्त प्रस्ताव पारित गरेसँगै शेयरधनीहरुले प्राप्त गर्ने छन्।
साधारणसभा प्रयोजनका लागि बैंकले पुस ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। पुस ८ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्ने छन्। बैंकले लेखापरीक्षकमा एसआर पाण्डे एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने भएको छ। हाल दोस्रो बजारमा बैंकको शेयर मूल्य ६६१ रुपैयाँ रहेको छ। विगतका वर्षको तुलनामा कम लाभांश घोषणापछि बैंकको शेयर मूल्यमा खासै सुधार आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।