काठमाडौं–नेपाल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १६ प्रतिशत लाभांश दिने भएको छ। पुस १ मा बसेको सञ्चालक समितिको बैंठकले चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
हाल बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ। प्रस्तावित १२ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्त पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ। बैंकले बोनस शेयरबापत एक अर्ब ३५ करोड रुपैयाँ र ४५ करोड १२ लाख रुपैयाँसहित एक अर्ब ८० करोड रुपैयाँ वितरण गर्न लागेको हो।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकले साधारणसभा बोलाउन सक्नेछ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश परित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्।
बैंकले २१ वर्षपछि गत वर्ष २५ प्रतिशत लाभांश दिएको थियो। लामो समय जगेडा कोष ऋणात्मक भएकाले लाभांश वितरण गर्न नसकेको बैंकले केही वर्षदेखि राम्रो मुनाफा आर्जन गरिरहेको छ। बैंकको बहुमत शेयर नेपाल सरकारको रहेको छ। ५१ प्रतिशत शेयर स्वामित्व रहेको नेपाल सरकारले अधिकांश लाभांश आफैंले लैजाने छ।
दोस्रो बजारमा बैंकको शेयर मूल्य ४१६ रुपैयाँ रहेको छ। लाभांश वितरण गर्न थालेसँगै दोस्रो बजारमा बैंकको शेयर मूल्यमा सुधार आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।