काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा ४ गुणा बढी आवेदन परेपछि आजदेखि बिक्री बन्द हुने भएको छ। सर्वसाधारणले आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन्। अहिलेसम्म बैंकको आइपिओका लागि ८ लाख ८० हजारभन्दा धेरैले आवेदन दिएका छन्।
कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर न्युनतम १० कित्ताका दरले बाँडफाँड गर्दा ५ लाख ५४ हजारले मात्रै प्राप्त गर्न सक्छन्। अहिलेसम्मको आवेदनका आधारमा कम्पनीको बाँडफाँड गोलाप्रथाबाट हुनेछ। जसमा तीन लाखभन्दा बढीको हात खाली हुनेछ।
सर्वसाधारण समूहतर्फको ६० करोड रुपैयाँमध्ये ५ प्रतिशत अर्थात् तीन करोड रुपैयाँ सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ। त्यस्तै कर्मचारीहरुका लागि पनि ५ प्रतिशत अर्थात् तीन करोड रुपैयाँको शेयर सुरक्षित गरिएको छ।
सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी रहेको ५४ करोड रुपैयाँको प्राथमिक शेयर सर्वसाधारणका लागि जारी गर्ने छ। सर्वसाधारणहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन्। प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। कम्पनीले सर्वसाधारण समूहको शेयर बिक्री गरेसँगै चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समूहतर्फ ३० प्रतिशत र संस्थापक समूहको ७० प्रतिशत कायम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।