काठमाडौं– क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा साविक विजेता युभेन्टसले इटालियन सिरी ए फुटबलमा बराबरी खेलेको छ। बुधबार राति भएको खेलमा युभेन्टसले एटलान्टासँग १–१ गोलको बराबरी खेलेको हो।
घरेलु टिम युभेन्टसका लागि फेडेरिको चिसाले गोल गरे। यता, एटलान्टाका लागि भने रेमो फ्रेउलरले गोल फर्काए। खेलको २९ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा गोल खान पुग्यो। खेलको ५७ औं मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै १–१ गोलको बराबरी दिलाए।
खेलको ६० औं मिनेटमा एटलान्टाका हान्स हेटबोरले डिबक्सभित्र फेडेरिकोलाई लडाएपछि युभेन्टसले पेनाल्टी पाएको थियो। पेनाल्टीबाट गोल गर्दै युभेन्टसले खेलमा जित निकाल्ने राम्रो अवसर थियो। तर पेनाल्टी प्रहार गरेका रोनाल्डोले गोल गर्न सकेनन्। उनी पेनाल्टीमा गोल गर्न चुकेसँगै युभेन्टसले एटलान्टासँग १–१ गोलको बराबरी खेलेको हो।
त्यस्तै, लिगको शीर्ष स्थिानमा रहेको एसी मिलान भने जिनोआसँग २–२ गोलको बराबरीमा रोकिएको छ। यता, इन्टर मिलानले भने नापोलीलाई १–० गोलअन्तरले पराजित गरेको छ।
लिगको शीर्ष स्थानमा रहेको एसी मिलानको १२ खेलबाट २८ अंक छ। दोस्रो स्थानमा रहेको एन्टर मिलानको १२ खेलबाट २७ अंक हुँदा तेस्रो स्थानमा उक्लिएको युभेन्टसको १२ खेलबाट २४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।