काठमाडौं– एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ।
एभर्टनले लेस्टरलाई उसैको मैदानमा पराजित गरेको हो। एभर्टनको जितमा रिचार्लीसन र मासन होलगेटले गोल गरे। पहिलो हाफमा एक गोल खाएको लेस्टरले दोस्रो हाफमा थप एक गोल खाँदै २–० गोलको हार ब्यहोरेको हो। खेलको २१ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई १–० गोलको अग्रता दिलाए। खेलको ७२ औं मिनेटमा मासन होलगेटले गोल गरेपछि लेस्टरविरुद्ध एभर्टनले २–० गोलको जित निकालेको हो।
त्यस्तै, अर्को खेलमा नवप्रवेसी क्लब लिड्स युनाइटेडले न्युक्यासललाई ५–२ गोलअन्तरले पराजित गरेको छ। आफ्नै मैदानमा भएको खेलमा लिड्सले न्युक्यासलमाथि फराकिलो जित निकालेको हो। प्रिमियर लिगमै भएको अन्य खेलमा भने आर्सनल साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिँदा वेष्ट हाम र क्रिस्टल प्यालेसले पनि १–१ गोलको बराबरी खेलेका छन्। त्यस्तै, फुलहाम र ब्राइटनले गोलरहित बराबरी खेलेका छन्।
हारसँगै लेस्टरले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। यदि एभर्टनलाई पराजित गरेको भए लेस्टर लिगको दोस्रो स्थानमा उक्लिने थियो। हारसँगै लेस्टर लिगको चौथो स्थानमा झर्दा एभर्टन भने लिगको पाँचौ स्थानमा उक्लिएको छ। लेस्टरको १३ खेलबाट २४ अंक छ। एभर्टनको भने १३ खेलबाट २३ अंक भएको छ। आर्सनलसँग १–१ गोलको बराबरी खेलेको साउथह्याम्पटन भने १३ खेलबाट २४ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ। २८ अंकसहित लिगको शीर्ष स्थानमा लिभरपुल रहँदा २५ अंक रहेको टोटेनहम लिगको दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।