काठमाडौं- नेपाल राष्ट्र बैंकले एक व्यक्तिले ५० लाखभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले प्रयोजन नखुलेका व्यक्तिगत कर्जामा कडाइ गर्दै यस्तो व्यवस्था गरेको हो। बैंकको यो व्यवस्था सँगै अब सबै बैंकबाट गरी जम्मा ५० लाख मात्र कर्जा लिन पाइने भएको छ।
यसअघि विभिन्न बैंकबाट ५० लाखभन्दा बढी रकम कर्जाका रूपमा लिएका ऋणीहरुले २०७८ असार मसान्तसम्ममा कुल व्यक्तिगत कर्जा ५० लाख रुपैयाँ कायम गर्नु पर्ने भएको छ। तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था गरिएको छ।
उदाहरणका लागि कुनै एक व्यक्तिले कुनै एक बैंक वा वित्तीय संस्थाबाट २० लाख व्यक्तिगत अधिविकर्ष कर्जा लिएमा सोही वा अन्य कुनै बैंक वा वित्तीय संस्थाबाट थप ३० लाखसम्म मात्र व्यक्तिगत अधिविकर्ष कर्जा लिन पाइने छ। इजाजतप्रत्रप्राप्त संस्थाले चालु पुँजी प्रकृतिका कर्जा प्रवाह गरे पश्चात् सो कर्जा सम्बन्धित प्रयोजनमा उपयोग भए नभएको यकिन गर्नु पर्नेछ।
त्यस्तै राष्ट्र बैंकले सेयरधितो कर्जा प्रवाह गर्दा थप आधारभूत सूचकांकको विश्लेषण गर्नु पर्ने भएको छ। बैंकहरुले सेयर धितो कर्जा प्रवाह गर्दा नीति निर्देशिकामा धितोको रूपमा लिने सेयरको प्राइस अर्निङ (पिई) रेसियो, प्राइस टु बुक भ्यालु, डिभिडेन्ट पेआउट रेसियो जस्ता आधारभूत सूचकांकको विश्लेषण सम्बन्धी व्यवस्था समेत स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ।
यस अगाडि धितोपत्र विनियमावली बजारमा सूचीकृत संस्थाहरूको सेयरको धितोमा कर्जा प्रदान गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको आफ्नो कर्जा नीति निर्देशिकामा स्पष्ट व्यवस्था भई अन्य कर्जा प्रदान गरे सरह अवलम्बन गर्नु पर्ने सम्पूर्ण प्रकृया पुरा गरेको हुनु पर्ने व्यवस्था थियो।
राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७७ मा संसोधन तथा परिमार्जन गर्ने क्रममा उक्त व्यवस्था थप गरेको हो।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको मौद्रिक समिक्षा गर्ने क्रममा सेयरधितो कर्जा तथा व्यक्तिगत कर्जामा कडाइ गर्ने व्यवस्था गरेको थियो।
राष्ट्र बैंकले बैकिङ कर्जा अनुत्पादक क्षेत्र तथा सेयर बजारमा गएको भन्दै कडाइ गर्ने नीति लिएको थियो। यही नीतिलाई कार्यान्वयन गर्ने क्रममा बुधबार राष्ट्र बैंकले व्यक्तिगत कर्जामा पनि सिलिङ तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।